महालेखापरीक्षकको कार्यालय

"नेपालको सर्वोच्च लेखापरीक्षण संस्था"

लेखापरीक्षण पृष्ठपोषण एंव शुभकामना आदानप्रदान कार्यक्रम

२०८० असोज २६ मा यस कार्यालयमा कार्यरत तथा पूर्व कर्मचारीसँग लेखापरीक्षण व्यवस्थापन सम्बन्धमा पृष्ठपोषण सहित छलफल तथा २०८० को  महान् चाडवाडहरु (बडा दशैं, तिहार, नेपाल सम्बत, छठ लगायत अन्य चाडबाडहरु) को एकआपसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा यस कार्यालयमा कार्यरत तथा पूर्व कर्मचारीतर्फ कार्यवाहक महालेखापरीक्षकज्यूहरु, उपमहालेखापरीक्षकहरु, नायब महालेखापरीक्षकहरु, निर्देशकहरु, लेखापरीक्षण अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यालयका तर्फबाट शुभकामना व्यक्त गर्दै लेखापरीक्षण अवस्था, लेखापरीक्षण विधि, पद्धति र लेखापरीक्षणका समसामयिक विषयहरुमा उपमहालेखापरीक्षक श्री बामदेव शर्मा अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो । तत्पश्चात पूर्व कार्यवाहक महालेखापरीक्षक श्री बच्चुराम दाहाल लगायत पूर्व कर्मचारीहरुका तर्फबाट लेखापरीक्षण सम्बन्धमा पृष्ठपोषण एवं शुभकामना प्रदान गर्नुभएको थियो। कार्यक्रममा पूर्व कर्मचारीहरुले लेखापरीक्षण क्षेत्रमा निरन्तर सुधारको खाँचो रहेकोले कार्यालयको रणनीतिक योजना (२०२१-२०२५) अनुसारका क्रियाकलापलाई मध्यनजर गरी कार्य गर्नुपर्ने, लेखापरीक्षणको गुणस्तर  अभिवृद्धि गर्नका अन्य देशका सर्वोच्च लेखापरीक्षण संस्थाहरुले गरेका असल अभ्यासहरु अध्ययन गरी सो अनुरुप कार्यालयको कार्यप्रणाली, लेखापरीक्षण विधि तथा पद्धतिमा सुधार गर्नुपर्ने, समान प्रकृतिका कारोबारको प्रतिवेदनमा एकरुपता नहुँदा जिम्मेवार निकाय तथा सरोकारवालाबाट प्रतिवेदनमा समावेश गरिएका विषयवस्तुमा टिप्पणी हुने गरेकोले कार्यालयले पर्याप्त गृहकार्य पश्चात मात्र लेखापरीक्षणमा टोलीलाई स्थलगत रुपमा पठाउनुपर्ने, लेखाप्रणाली व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भईसकेको अवस्थामा लेखापरीक्षणलाई पनि सोही अनुसार परिमार्जन गर्नुपर्ने एवं सोका लागि फेसलेस तथा रिमोट अडिट गर्नुपर्ने, लेखापरीक्षण जोखिमलाई वस्तुनिष्ठ तवरले विश्लेषण गरी उच्च जोखिमका क्षेत्रमा बढी प्रयास लगाउनुपर्ने, नियमितता र वित्तीय लेखापरीक्षण प्रतिवेदन जारी गर्नुपर्ने लगायतका सान्दर्भिक र मननयोग्य सुझावहरु प्रदान गर्नु भएको थियो । कार्यालयका पूर्व कर्मचारीहरुले यसप्रकारको कार्यक्रम प्रथमपटक आयोजना भएकोमा सह्राना गर्दै यसको निरन्तरता हुनुपर्ने विचार राख्नुभएको थियो ।

यस प्रकारको कार्यक्रमले अग्रजहरुको अनुभवको आदानप्रदानबाट वर्तमान कर्मचारीहरुको क्षमता समेत अभिवृद्धिमा सहयोग पुग्ने र समग्र लेखापरीक्षणको गुणस्तर र प्रभाव समेत बढ्ने स्थिति रहन्छ । तसर्थ कार्यालयका तर्फबाट कार्यक्रमको निरन्तरता एवं दिएका सुझावको अभिलेखीकरण र कार्यान्वयनको प्रतिवद्धता व्यक्त भएको थियो ।


  • साइट भ्रमण

कार्यालय समय

बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)

शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म